काठमाडौँ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले तीन जना उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ। आयोगले बुधबार जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके), राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनार र काठमाडौँ–५ की उम्मेदवार निशा अधिकारीलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।
जनमत पार्टीका अध्यक्ष राउत सप्तरी–२ बाट उम्मेदवार रहेका छन्। सार्वजनिक स्थानमा निर्वाचन चिह्न र पार्टी झन्डा प्रयोग गरी तोरण बनाइ प्रदर्शन गरेको भन्दै उनीविरुद्ध आयोगमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा आयोगले स्पष्टीकरण माग गरेको जनाएको छ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारविरुद्ध गाईको विषयलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने खालको अभिव्यक्ति दिएको आरोपमा उजुरी परेको आयोगले जानकारी दिएको छ।
काठमाडौँ–५ बाट उम्मेदवार बनेकी निशा अधिकारीविरुद्ध भने विदेशमा रहेका नेपाली नागरिकलाई स्वयंसेवक आवेदन फाराम पठाई क्युआर कोडमार्फत चुनावी अभियानलाई सहयोग गर्न सकिने विवरण पठाइएको भन्ने उजुरी परेको आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा हालसम्म २१ जना व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधिसकिएको छ।
प्रतिक्रिया