गुठी संस्थानद्वारा विवादास्पद चिनियाँ लामा भूपतिबज्र बर्खास्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ माघ २०८२, बुधबार ०७:१३

काठमाडौं। गुठी संस्थानले बौद्धनाथ क्षेत्रअन्तर्गत रहेका बौद्ध तथा मेलम्ची घ्याङ गुठीमा कार्यरत चिनियाँ लामा भूपतिबज्र लामालाई पदबाट बर्खास्त गरेको छ।

संस्थानका अनुसार विभिन्न घटनाक्रममा विवादास्पद बनेका लामामाथि नागरिकता तथा राहदानीसम्बन्धी अनियमितता, संस्थागत नियम विपरीत गतिविधि र धार्मिक सम्पदाको मर्यादा विपरीत आचरण गरेको उजुरी परेपछि उनलाई पदमुक्त गरिएको हो। उजुरीमा उनले नागरिकताको प्रतिलिपि प्रयोग गरी नामअगाडि ‘रिन्पोछे’ लेख्दै सोही आधारमा राहदानी बनाएर विभिन्न देश भ्रमण गरेको, साथै रातो पासपोर्ट प्रयोग गरेको आरोपसमेत समावेश छ।

गुठी संस्थानका अनुसार बौद्ध स्तुपा क्षेत्रभित्र पर्ने मेलम्ची घ्याङ गुठीमा कार्यरत रहँदा उनले विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रको मापदण्ड विपरीत गतिविधि गरेको, ‘मेरो बाजेको वृत्त’ भन्दै बौद्ध क्षेत्रलाई निजी स्वामित्वजस्तो व्यवहार गरेको तथा संस्थानको नियमभन्दा बाहिर रहेर काम गरेको आरोप लागेको छ।

मिडियामा घुस लिएको विषय सार्वजनिक भएपछि ती आरोप पुष्टि नभए पनि विवादास्पद व्यक्ति पदमा रहनु संस्थाको मर्यादाविपरीत हुने ठहर गर्दै माघ ९ गते बसेको गुठी संस्थानको सञ्चालक समिति बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।

संस्थानका अध्यक्ष रमेशकुमार पोख्रेलको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समितिले एकमतले निर्णय गरेको र पदमुक्तिसम्बन्धी औपचारिक पत्र आगामी दुई दिनभित्र लामालाई बुझाइने संस्थानले जनाएको छ।

संस्थानका अनुसार भूपतिबज्र लामालाई केही बौद्धधर्मावलम्बीहरूले ‘नक्कली रिन्पोछे’ को रूपमा चिन्ने गरेको, अध्ययन र धार्मिक अनुयायी निर्माणभन्दा राजनीति र विवादमा संलग्न रहने गरेको गुनासो पनि आएका छन्। साथै, उनीसँग नेपाल र हङकङ दुवैको परिचयपत्र रहेको प्रमाण फेला परेको दाबी गर्दै यस्तो विवादास्पद व्यक्तिलाई पदमा राख्न नमिल्ने निष्कर्ष निकालिएको जनाइएको छ।

यसैबीच गुठी संस्थानअन्तर्गतको विद्वत् समितिले बौद्ध क्षेत्रमा दैनिक पूजा–आराधनाका लागि उपयुक्त वैकल्पिक लामाको खोजी प्रक्रिया सुरु गरेको जनाएको छ। धार्मिक गतिविधि तथा गुठी व्यवस्थापनमा कुनै अवरोध नआओस् भन्ने सुनिश्चितताका लागि कडा निगरानी गरिने संस्थानको भनाइ छ।

गुठी संस्थानले धार्मिक सम्पदाको संरक्षण, व्यवस्थापन र सञ्चालनमा पारदर्शिता तथा कडाइका साथ अनुगमन कायम राख्ने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

प्रतिक्रिया

Leave a Reply