काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल फोन नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार यातायात कार्यालयका कर्मचारीहरूले विचौलियामार्फत सवारी चालक अनुमति पत्र दिलाउने क्रममा घुस लिएको उजुरी प्राप्त भएपछि अनुसन्धानका क्रममा कार्यालय प्रमुख पेशल कुमार पोखरेलसहित २७ जनाका ३७ थान मोबाइल फोन नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएकामध्ये १७ जना यातायात व्यवस्था कार्यालय चाबहिलका कर्मचारी रहेका छन् भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा कार्यरत प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जनाका मोबाइल फोन जफत गरिएको आयोगले जनाएको छ। यसबाहेक सवारी चालक अनुमति पत्र प्रक्रियामा संलग्न अन्य विचौलियाहरूका मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको बताइएको छ।
अख्तियारले मोबाइल फोनमार्फत घुस लेनदेन तथा बिचौलिया गतिविधिसम्बन्धी थप अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।
प्रतिक्रिया