काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गराउन देशी तथा विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौँमा आयोजित चुरे भावर पार्टीसँगको एकता तथा समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले विचार र सिद्धान्तभन्दा ‘स्टन्ट’ का आधारमा लोकप्रिय बनाउने प्रवृत्तिलाई बाह्य शक्तिले प्रयोग गरिरहेको दाबी गरे।
पूर्वप्रधानमन्त्री दाहालले त्याग, तपस्या र बलिदानमा आधारित राजनीतिक संस्कृतिलाई पन्छाएर केवल चर्चाका लागि काम गर्ने प्रवृत्ति मुलुकका लागि सकारात्मक नहुने बताए। उनले भने, “अहिले विचार र राजनीतिक मूल्यमान्यताभन्दा स्टन्ट गरेको भरमा पपुलर हुने र त्यस्तालाई नै प्रमोट गर्न देशी–विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको हामीले देखिरहेका छौँ।”
उनका अनुसार भ्रष्टाचारविरुद्धको अभियान र सामाजिक न्यायजस्ता मुद्दालाई व्यावहारिक कार्यान्वयनभन्दा पनि प्रचारमुखी शैलीमा अघि बढाउने प्रयास भइरहेको छ।
दाहालले देश र जनताको पक्षमा काम गर्न राष्ट्रिय तागत निर्माण आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य भएको बताए।
इतिहासको सम्मान गर्ने र राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्न कम्युनिस्ट पार्टीहरूको ध्रुवीकरण प्रक्रिया तीव्र बनाइएको उनले जानकारी दिए। कम्युनिस्ट र देशभक्त शक्तिहरूबीचको एकताले मात्र मुलुकलाई वर्तमान सङ्कटबाट जोगाउन सक्ने दाबी गर्दै उनले अन्य छरिएर रहेका शक्तिहरूलाई पनि एकता प्रक्रियामा सहभागी हुन आह्वान गरे।
प्रतिक्रिया