पुरानो पार्टी, नयाँ दृष्टि : काठमाडौँ–२ का लागि कबिर शर्मा किन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०८२, मंगलवार ०७:३७

काठमाडौँ । नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक इतिहासमा गहिरो छाप छोडेको, सङ्घर्ष र बलिदानबाट निर्माण भएको पार्टी हो । २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि संविधान निर्माण, लोकतन्त्र पुनर्स्थापना र संघीय गणतन्त्रसम्म आइपुग्दा कांग्रेसले निर्णायक भूमिका निर्वाह गर्दै आएको तथ्य सर्वविदित छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका आधारभूत सिद्धान्त अंगालेको यो पार्टी आज बदलिँदो समयअनुसार आफूलाई परिमार्जन गर्दै “समुन्नत नेपाल, सम्मानित नेपाली”को लक्ष्यसहित फेरि एकपटक जनतामाझ गएको छ ।

यसै सन्दर्भमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका छन्— कबिर शर्मा। उनी यस अवसरलाई व्यक्तिगत उन्नतिभन्दा पनि समाज सेवा, राष्ट्र, राष्ट्रियता र स्वाधीनताको पक्षमा आफूलाई समर्पण गर्ने अवसरका रूपमा लिएको बताउँछन्।

भूगोल बुझेका स्थानीय प्रतिनिधि

कबिर शर्मा काठमाडौँ–२ का लागि ‘चुनावी पाहुना’ होइनन्। उनी कागेश्वरी मनोहरा नगरपालिका, मूलपानीमै जन्मिएका, हुर्किएका र अहिले पनि बसोबास गरिरहेका स्थानीय नागरिक हुन्। यहीँका सडक, टोल, विद्यालय, क्याम्पस र दैनिक समस्यासँग उनको जीवन जोडिएको छ।
“यहाँको सडक हिलो हुँदा मेरो यात्रा पनि कठिन हुन्छ, यहाँको विद्यालय कमजोर हुँदा मेरो छोरीको भविष्यको चिन्ता पनि म आफैं गर्छु,” भन्ने उनको भनाइले उनी जनतासँग कति नजिक छन् भन्ने देखाउँछ। विगत ३८ वर्षदेखि यस क्षेत्रले भोग्दै आएको यथार्थ नै उनको आफ्नै जीवन अनुभव हो।

विज्ञ, शिक्षित र तथ्यमा आधारित नेतृत्व

शिक्षाका हिसाबले कबिर शर्मा भूगर्भशास्त्रमा स्नातकोत्तर (M.Sc. in Geology) गरेका विज्ञ हुन्। त्रिचन्द्र क्याम्पसबाट बीएस्सी र कीर्तिपुरस्थित भूगर्भशास्त्र विभागबाट एमएस्सी गरेका उनी हाल काठमाडौं उपत्यकाको भूमिगत जलसतह, सहरिकरण र सम्भावित जमिन भासिने जोखिमसम्बन्धी अध्ययनमा संलग्न छन्।
उनको व्यावसायिक अनुभव मेलम्ची खानेपानी आयोजना, चमेलिया र दोरदी जलविद्युत आयोजना, विभिन्न सडक परियोजनाका भूगर्भिक सर्भे तथा २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणसम्म फैलिएको छ। यसले उनी सपना बाँड्ने होइन, योजना बनाउन सक्ने प्राविधिक क्षमता भएका नेता भएको संकेत गर्छ।

राजनीति सेवा हो, पेशा होइन

“म जन्मजात राजनीतिज्ञ होइन,” कबिर शर्मा स्पष्ट भन्छन्, “राजनीतिलाई मैले कमाइ खाने पेशा होइन, देश र जनताको शिर उच्च राख्ने माध्यम ठानेको छु।”
१७ वर्षकै उमेरदेखि त्रिचन्द्र क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका उनी अहिलेसम्म कुनै पनि भ्रष्टाचार, अनियमितता वा विवादमा मुछिएका छैनन्। यही निष्कलङ्क छविका कारण उनी पार्टीभित्र मात्र होइन, आम मतदातामाझ पनि भरोसायोग्य पात्रका रूपमा चिनिन्छन्।

देश बुझ्ने दृष्टि : ६५ जिल्लाको अनुभव

भूगर्भशास्त्रीका रूपमा काम गर्ने क्रममा उनले करिब ६५ जिल्ला भ्रमण गरेका छन्। यसले उनलाई नेपालको भौगोलिक विविधता, स्रोतको असमानता र विकासका फरक चुनौतीहरू गहिरो रूपमा बुझ्न सहयोग गरेको छ।
उनको बुझाइमा हिमाल, पहाड र तराईका समस्या एउटै ढाँचाले समाधान हुन सक्दैनन्। उत्तरको चट्टान र दक्षिणको माटो फरक छ, त्यसैले नीति, प्रविधि र लगानी पनि फरक हुनुपर्छ। यही यथार्थ नबुझ्दा देशमा नकारात्मक राजनीति, रुमानी सपना र अधुरा योजना दोहोरिँदै आएको उनको निष्कर्ष छ।

सपना होइन, कार्यान्वयनयोग्य योजना

कबिर शर्मा आफू “१० वर्षमै देश स्विजरल्यान्ड बनाइदिन्छु” भन्ने खालका रुमानी सपना बाँड्न नआएको स्पष्ट पार्छन्।
उनको प्राथमिकता काठमाडौँ–२ को वैज्ञानिक भू–उपयोग वर्गीकरण, भूमिगत जलस्रोत संरक्षण, विपद् पूर्वतयारी, शिक्षा र सीप विकास, सहरी तथा ग्रामीण क्षेत्रअनुसार फरक–फरक रोजगारी मोडल विकास गर्नु हो।
कान्तिपुर एकेडेमीको स्थापना वा सामुदायिक विद्यालयमा सुरु गरिएको रोबोटिक्स र एआई कक्षा उनका लागि सुरुवात मात्र हुन्।

नीति निर्माता रूपमा उनको दृष्टि

कबिर शर्मा प्रतिनिधिसभा सदस्यको मुख्य काम ऐन, नियम र कानुन निर्माण भएको बताउँछन्।
उनको धारणा अनुसार—

  • देश स्रोत नभएर होइन, स्रोत पहिचान र सदुपयोग नगर्दा गरिब भएको हो।

  • नकरात्मकताको बिक्री नेपाली राजनीतिकाे विकृति हो।

  • सार्वजनिक खरिद “सस्तो नै राम्रो” भन्ने मान्यतामा होइन, आवश्यकताको आधारमा हुनुपर्छ।

  • उत्पादनमा आधारित अर्थतन्त्रबिना दिगो सामाजिक सुरक्षा सम्भव छैन।

  • भू–विपद् नसम्झी बनाइएका संरचनाले देशलाई दशकौँ पछाडि धकेल्न सक्छन्।

पुरानो पार्टी, तर मूल्य जिउँदो

कतिपय मतदाताले “पार्टी पुरानो भयो” भन्ने प्रश्न उठाए पनि कबिर शर्मा त्यसलाई यसरी सम्बोधन गर्छन्—
“यो त्यही पार्टी हो, जसको जरामा बिपीको संघर्ष, गणेशमानको त्याग र किसुनजीको निष्ठा छ। हाँगामा कहिलेकाहीँ रोग लाग्न सक्छ, तर जरामा सत्य र निष्ठा छ भने रुख जिउँदो रहन्छ।”

निष्कर्ष

काठमाडौँ–२ ले विगतमा सबै खाले शक्ति र नेतृत्व परीक्षण गरिसकेको छ। अब प्रश्न नयाँ वा पुरानो अनुहारको होइन, योग्यता, इमान्दारिता र दृष्टिकोणको हो।
कबिर शर्मा मतदातासँग आग्रह गर्छन्—
“मेरो उमेर, मेरो पार्टी वा अरूको कमजोरी होइन, मेरो पृष्ठभूमि, योग्यता र निष्ठालाई आधार बनाएर मात्र मत दिनुहोस्।”

प्रतिक्रिया

Leave a Reply