बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता घृणात्मक अभिव्यक्ति र भ्रामक आरोपले निर्वाचन प्रक्रियामा असर परेको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०८२, मंगलवार ०६:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत गरेको टिप्पणी लोकतान्त्रिक बहसको मर्मविपरीत रहेको भन्दै धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन्।

निवेदक तिमिल्सिनाका अनुसार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका शीर्ष नेताबीच पारदर्शी, बौद्धिक र तथ्यमा आधारित सार्वजनिक बहस (पब्लिक डिवेट) को प्रस्ताव राख्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने अभिव्यक्ति दिएको सन्दर्भमा बालेन शाहले घृणा फैलाउने, मानहानी गर्ने र अपुष्ट आरोप लगाउने टिप्पणी गरेका हुन्।

तिमिल्सिनाले बालेन शाहले ओलीको फेसबुक पोस्टमा रिप्लाई गर्दै लेखेको टिप्पणी उद्धृत गर्दै ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता गम्भीर, तथ्यहीन र प्रमाणविहीन आरोप सार्वजनिक रूपमा लगाइनु मानहानी, राजनीतिक प्रतिशोध र मतदाताको मानसिकता भ्रमित पार्ने कार्य भएको दाबी गरेका छन्।

उनका अनुसार यस्तो अभिव्यक्तिले

  • व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्‍याउने,

  • एक वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने,

  • तथा निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त रूपमा सम्पन्न गर्ने संवैधानिक उद्देश्यलाई कमजोर बनाउने काम गरेको छ।

निवेदनमा नेपालको संविधान, निर्वाचन आचारसंहिता र प्रचलित कानुनले निर्वाचन अवधिमा भ्रामक सूचना, घृणात्मक अभिव्यक्ति तथा अपुष्ट आरोपमार्फत मतदातालाई प्रभावित पार्न निषेध गरेको स्पष्ट व्यवस्था रहेको समेत उल्लेख गरिएको छ।

तिमिल्सिनाले बालेन शाहको अभिव्यक्तिको तथ्यपरक छानबिन गर्न, छानबिनबाट आचारसंहिता तथा कानुनविपरीत ठहर भए आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेका छन्।

निर्वाचन आयोगले उक्त उजुरी दर्ता गरिसकेको छ। आयोगका अनुसार उजुरी दर्ता नम्बर २०३४ रहेको छ।

प्रतिक्रिया

Leave a Reply