काठमाडौँ । लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव अर्कै परिवारले लिएर अन्त्येष्टि गरेको गम्भीर घटना सार्वजनिक भएको छ। जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै झुक्किएर अर्कै परिवारले लगेर अन्त्येष्टि गरेको हो।
गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको थियो। तर अस्पताल प्रशासनको लापरबाहीका कारण शव गल्तीवश अर्कै परिवारलाई बुझाइएको खुलेको छ।
रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि भारतको मुम्बईमा रहेका मृतकका आमाबुवा छोरीको मृत्युको खबर सुन्नासाथ नेपाल फर्किएका थिए। आज बिहान छोरीको अन्तिम संस्कारका लागि शव लिन अस्पताल पुग्दा शव नै नपाएपछि घटना सार्वजनिक भएको हो।
अस्पताल प्रशासनसँग बुझ्दा सोही समयमा सप्तरीकी अर्की समान उमेरकी किशोरीको शव पनि परीक्षणका लागि अस्पतालमा राखिएको र ती किशोरीका परिवारले आइतबार झुक्किएर निशा बानियाँको शव लिएर अन्त्येष्टिसमेत गरिसकेको पुष्टि भएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले शव राख्ने क्रममा आवश्यक ‘कोडिङ’ नगर्दा कर्मचारीबाट गम्भीर गल्ती भएको स्वीकार गरेका छन्।
उनले भने, “यो अस्पताल प्रशासनको गम्भीर लापरबाही हो। घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिनेछ।”
छोरीको अन्तिम पटक मुखसमेत देख्न नपाएपछि मृतकका बुबा पूर्णबहादुर बानियाँ भावविह्वल भएका छन्। घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गर्नुका साथै लहान अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले केही समय पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गर्दै दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन्।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार पीडित परिवार, अस्पताल प्रशासन र सरोकारवालाबीच वार्ताको तयारी भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रतिक्रिया