निर्वाचन आचारसंहिता अनुगमनका लागि ७७ वटै जिल्लामा अधिकृत तोकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०८२, मंगलवार ०६:३४

काठमाडौँ ।  निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशका ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। चुनावी खर्चसहित समग्र निर्वाचन प्रक्रिया प्रभावकारी रूपमा अनुगमन गर्ने उद्देश्यले अधिकृत खटाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र आचारसंहिताको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ। त्यसैगरी, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आर्थिक गतिविधि, चुनावी खर्च, लेखा राखे–नराखेको, सम्पत्ति विवरण पेस गरे/नगरेको तथा निर्वाचन कार्यालयमा घोषणापत्र पेस गरे/नगरेको विषयको अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ।

आयोगका एक अधिकारीका अनुसार आचारसंहिता उल्लङ्घन भएको पाइएमा स्पष्टीकरण सोध्ने अधिकारसमेत अनुगमन अधिकृतलाई दिइएको छ।
उनले भने, “आयोगबाट मात्रै सबै कुरा भ्याइँदैन, त्यसैले अनुगमन अधिकृतले पनि सक्रिय रूपमा भूमिका निर्वाह गर्नुपर्छ।”

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीका आधारमा यसअघि आयोगले आफैं स्पष्टीकरण सोध्दै आएकोमा अब जिल्लास्तरमै निगरानी र कारबाही प्रक्रिया थप सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply