काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी प्रचारका क्रममा प्रयोग गरेको गाडीलाई लिएर विवादमा तानिएका छन्।
पूर्वी नेपालका जनकपुर, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सुनसरी र मोरङलगायत जिल्लामा गरिएको चुनावी प्रचारका क्रममा बालेनले प्रयोग गरेको गाडी विवादको विषय बनेको हो।
चुनावी प्रचारमा बालेनले चढेको बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफेन्डर गाडी विवादित व्यापारी कमलकिशोर मालपानीको रहेको खुलेको छ। प्रचार अभियान सकेर बालेन हाल काठमाडौं फर्किसकेका छन्।
यसैबीच, आइतबार ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको निवासबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले बालेनलाई घेरेर उक्त गाडीबारे प्रश्न गरेका थिए। सञ्चारकर्मीहरूले विवादित व्यापारीको करोडौं मूल्यको गाडी प्रयोग गरेको विषयमा स्पष्टिकरण मागे पनि बालेनले त्यसबारे कुनै प्रतिक्रिया दिएनन्।
सञ्चारकर्मीको प्रश्नको जवाफ नदिँदै उनी गाडीमा छिटो प्रवेश गर्दै स्थानबाट बाहिरिएका थिए। सो क्रममा बालेनलाई सञ्चारकर्मीको प्रश्नबाट जोगाउन उनका सहयोगीहरूले प्रयास गरेको देखिएको थियो।
गाडीको स्वामित्व र प्रयोगको विषयले राजनीतिक वृत्तमा चर्चा बढाएको छ।
प्रतिक्रिया