काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालबाट १५ जना केन्द्रीय सदस्यले पार्टी त्यागेको औपचारिक घोषणा गरेका छन्। पार्टी परित्याग गरेका नेताहरूले हाललाई कुनै नयाँ राजनीतिक दल वा अभियानमा आबद्ध नहुने स्पष्ट पारेका छन्।
हस्ताक्षररहित विज्ञप्ति जारी गर्दै उनीहरूले विचार, मूल्य र नागरिक सरोकारका आधारमा सक्रिय रहने जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, “यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौँ।”
पार्टी छाड्ने नेताहरूमा डा. विशालकुमार भण्डारी, डा. अभिसेकराज सिंह, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने र सुजन श्रेष्ठ छन्। यस्तै, कुसुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ र सञ्जीव भट्टराईले पनि उज्यालो नेपाल परित्याग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपालबीचको एकता भङ्ग भएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको थियो। एकताका क्रममा आवश्यक लचकता अपनाएर सहकार्य जोगाउनुपर्ने धारणा राख्दै आएका यी नेताहरू घिसिङको नेतृत्वशैलीप्रति असन्तुष्ट बनेको स्रोतले जनाएको छ।
उज्यालो नेपालको कोटाबाट रास्वपाको बन्द सूचीमा समेटिएकी रिमा विश्वकर्मा भने रास्वपामै कायम रहेकी छन्। यस्तै, रास्वपाले डा. तारा जोशीलाई डडेलधुराबाट प्रत्यक्ष उम्मेदवार बनाएको छ भने अरविन्द साहलाई बारा–३ बाट उम्मेदवार उठाएको छ।
प्रतिक्रिया