राष्ट्रिय झण्डाको मर्यादित प्रयोग गर्न गृह मन्त्रालयको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०८२, सोमबार ०६:४६

काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय गौरव र पहिचानको प्रतीक नेपालको राष्ट्रिय झण्डाको मर्यादित प्रयोग गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ। झण्डाको दुरुपयोग भए कानुनबमोजिम कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी विद्यमान कानुनी व्यवस्था र कार्यविधिको पूर्ण पालना गर्न अनुरोध गरिएको छ। विज्ञप्तिमा ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९’, निर्वाचन आचारसंहिता, २०७२ तथा मुलुकी अपराध संहिता, २०७४ ले राष्ट्रिय झण्डाको प्रयोग, संरक्षण र मर्यादाबारे स्पष्ट नियम तथा निषेध उल्लेख गरेको जनाइएको छ।

मन्त्रालयका अनुसार झण्डा उल्टो राख्ने, च्यात्ने, जलाउने, फ्याँक्ने, व्यापारिक प्रयोजनमा प्रयोग गर्ने, शरीरको कम्मरमुनि वा छातीमुनि लगाउने तथा भित्री कपडामा झण्डाको प्रतीक राख्ने कार्य पूर्ण रूपमा निषेधित छन्।

त्यसैगरी, कुनै पनि दल वा उम्मेदवारले निर्वाचन प्रचार–प्रसारका क्रममा दशवटाभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाउने व्यवस्था रहेको भन्दै सो नियम कडाइका साथ पालना गर्न गृह मन्त्रालयले सबैलाई आग्रह गरेको छ।

मन्त्रालयले राष्ट्रिय झण्डाको अपमान वा दुरुपयोग राष्ट्रको स्वाभिमान र कानुनी मर्यादाविरुद्ध हुने भएकाले उल्लङ्घन गर्ने जो–कोहीमाथि कानुनअनुसार कारबाही र सजाय हुने स्मरण गराएको छ।

प्रतिक्रिया

Leave a Reply