काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौँको महाराजगन्जस्थित देशकै ठूलो अस्पताल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा आफ्नो १२औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने भएको छ।
अस्पतालमा उपचार तथा सेवा लिन आउने सेवाग्राहीको सुविधा र सहजतालाई मध्यनजर गर्दै बैंकले उक्त काउन्टर सञ्चालन गर्न लागेको हो।
शिक्षण अस्पताल परिसरमा बैंकको एक्सटेन्सन काउन्टर निर्माण गरी सञ्चालनमा ल्याउनका लागि गरिएको सम्झौतामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक डा. सुवासप्रसाद आचार्य र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि अस्पतालले उपलब्ध गराएको स्थानमा बैंकले आवश्यक भौतिक संरचना निर्माण गरी काउन्टर सञ्चालनमा ल्याउनेछ। यसअघि नै अस्पताल परिसरमा एटिएम सेवा सञ्चालन गर्दै आएको बैंकले अब उक्त एक्सटेन्सन काउन्टरमार्फत उपचारका क्रममा लाग्ने बिल भुक्तानी, रेमिट्यान्स सेवा लगायतका विभिन्न बैंकिङ कारोबारहरू सहज रूपमा उपलब्ध गराउने जनाएको छ।
सरकारी तथा सार्वजनिक निकायलाई लक्षित गर्दै अत्याधुनिक बैंकिङ सेवा विस्तार गर्ने अभियानअन्तर्गत माछापुच्छ्रे बैंकले यो कदम चालेको हो। यस पहलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सेवाग्राहीका साथै अस्पतालको आर्थिक कारोबारलाई डिजिटलाइज गर्न महत्वपूर्ण योगदान पुर्याउने बैंकको विश्वास छ।
प्रतिक्रिया