प्रधानमन्त्री बन्ने संकेत? बालेन शाहका नाममा ‘balen4pm.com’ र ‘balenforpm.com’ डोमेन लाइभ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ माघ २०८२, आईतवार ०७:३५

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने उद्देश्यले ‘balen4pm.com’ र ‘balenforpm.com’ नामका डोमेन लाइभ गरिएको पाइएको छ।

यसअघि काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिँदा बालेनले ‘balenformayor.com’ मार्फत डिजिटल अभियान सञ्चालन गरेका थिए। अहिले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुँदै गर्दा प्रधानमन्त्री बन्ने सन्देश दिनेगरी नयाँ डोमेन सार्वजनिक हुनुले उनको दीर्घकालीन राजनीतिक महत्वाकांक्षा संकेत गरेको विश्लेषण हुन थालेको छ।

यद्यपि, नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग झापाबाट प्रतिस्पर्धा गरिरहेका बालेन शाह हाल प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेदवार बनेका छन्। यसअघि उनले ‘कार्यकारी प्रधानमन्त्री’ बन्ने अभिव्यक्ति दिए पनि संवैधानिक रूपमा त्यसका लागि संसद्को समर्थन आवश्यक हुन्छ।

उक्त दुवै डोमेन २९ डिसेम्बर २०२५ मा दर्ता गरिएको देखिएको छ। डोमेन कसले दर्ता गरेको हो भन्ने विवरण गोप्य राखिएको छ। वेबसाइटको होमपेजमा बालेन शाहको तस्बिरसहित ‘म नेपाल हाँसेको हेर्न चाहन्छु – बालेन’ भन्ने नारा राखिएको छ।

स्थानीय तह निर्वाचन २०७९ मा मेयर पदको उम्मेदवार हुँदा बालेनले वेबसाइटमार्फत आफ्नो जीवनी, योग्यता, अनुभव र चुनावी कार्ययोजना सार्वजनिक गरेका थिए। यसपटक पनि डोमेनमार्फत प्रधानमन्त्रीका रूपमा उनको छवि निर्माण गर्ने प्रयास भएको देखिन्छ।

प्रतिक्रिया

Leave a Reply