काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको वैयक्तिक विवरण सार्वजनिक गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२(१) बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ निर्धारित मितिमा मनोनयनपत्र दर्ता कायम रहेका उम्मेदवारले पेस गरेका वैयक्तिक विवरण आयोगले सार्वजनिक गरेको हो।
निर्वाचन प्रक्रिया पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक गर्नु आवश्यक रहेको भन्दै आयोगले कानुनी व्यवस्थाअनुसार सबै उम्मेदवारको विवरण सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
सार्वजनिक गरिएको विवरणले मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आम नागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने उद्देश्य राखिएको छ। सो विवरण आयोगको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको छ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा ३,४८६ उम्मेदवारी दर्ता भएका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो।
कुल उम्मेदवारमध्ये ३,०८९ पुरुष, ३९६ महिला तथा एक जना अन्य रहेका छन्।
प्रतिक्रिया