काठमाडौं । नगर क्षेत्रभित्र शान्ति–सुरक्षा सुदृढीकरण, पारदर्शी तथा व्यवस्थित शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरणलगायत विविध क्षेत्रमा आपसी सहकार्य गर्ने उद्देश्यसहित कागेश्वरी मनोहरा नगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालयबीच समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ।
बुधबार कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्की र कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।
समझदारीअनुसार नगर क्षेत्रमा कानूनको प्रभावकारी कार्यान्वयन, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण, प्रदूषण न्यूनीकरण, सार्वजनिक सम्पत्तिको संरक्षण, नदी किनारा तथा सांस्कृतिक सम्पदाको संरक्षण जस्ता विषयमा दुवै पक्षबीच समन्वय र सहकार्य गरिनेछ।
नगरपालिकाले उक्त समझदारीले नागरिकको सुरक्षा, सार्वजनिक स्थानको सुव्यवस्था र वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ। साथै, यस सहकार्यले नगरलाई सुरक्षित, स्वच्छ, व्यवस्थित र सभ्य बनाउने दिशामा महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया