काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी (वसन्त पञ्चमी) आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि र सृजनात्मक क्षमता वृद्धि हुने धार्मिक विश्वास रहिआएको छ।
आज देशभरका सरस्वती मन्दिरहरूमा श्रद्धालुको घुइँचो लागेको छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ (विद्यारम्भ) गराउने परम्परा छ। आज लेखपढ सुरु गराए राम्रो विद्या प्राप्त हुने विश्वास गरिन्छ।
चन्द्रमाजस्तो गोरो वर्ण, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, कौमारी, चन्द्रघण्टा र भुवनेश्वरी आदि नामले पुकार्ने गर्छन्।
विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरूले कलम, कापी, कुची, वाद्ययन्त्रजस्ता कला–साधनाका सामग्रीलाई सरस्वतीका रूपमा पूजा गर्ने गर्छन्। तान्त्रिकहरूले भने तारादेवीका रूपमा आराधना गर्ने परम्परा छ।
सूर्य उत्तरायण लाग्दै दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। ऋग्वेदमा वाग्देवीका रूपमा उल्लेखित ब्रह्माकी अर्धाङ्गिनी सरस्वतीको पूजा उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने मान्यता छ। गान्धर्व पुराणमा आजको दिन सरस्वती पूजा गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने उल्लेख छ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक–धार्मिक कार्य गर्न साइत हेर्न नपर्ने विश्वास छ। तर यस वर्ष शुक्र अस्त भएकाले यी शुभकर्महरू भने गरिँदैनन्। यसैदिन बालबालिकालाई शिक्षा आरम्भसँगै नाक–कान छेडिदिने चलन पनि छ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले लगायत देशका विभिन्न स्थानका सरस्वती मन्दिरमा आज बिहानैदेखि विशेषगरी छात्रछात्राको ठूलो भीड लागेको छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या–बुद्धि स्फुरण हुने धार्मिक विश्वास छ।
यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा वसन्त श्रवण गर्ने परम्परा अनुसार आज राष्ट्राध्यक्ष सहभागी हुँदैछन्। शुक्रबार बिहान १०:२७ बजेको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्ने साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए।
वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रियसभा अध्यक्ष तथा सदस्य, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ। कार्यक्रमका सबै तयारी पूरा भइसकेको कार्यालयले जनाएको छ।
प्रतिक्रिया