काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्ने भएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार आज (शुक्रबार) दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट उक्त निर्णय गरिनेछ।
भावी प्रधानमन्त्रीका रूपमा घोषणा भएपछि सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने कार्यक्रम रहेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराइसकेका छन्। थापाका तर्फबाट प्रदेशसभा सदस्य वीरेन्द्र सिंह समर्थकसहित निर्वाचन क्षेत्र नम्बर ४ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए।
कांग्रेस उपसभापति पुष्पा भुसालले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै प्रतिनिधिसभा निर्वाचनमा होमिन बैठक बोलाइएको जानकारी दिइन्। थापा गत पुस २७ देखि माघ १ गतेसम्म सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएका थिए।
विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू आज पहिलो पटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्ने भएका छन्। नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि पहिलोपल्ट सानेपामा बैठक बस्न लागेको हो।
यसअघि पार्टीभित्रको आन्तरिक कलहका कारण नवनिर्वाचित केन्द्रीय कार्यसमिति सानेपामा नगई बाहिरै बैठक बस्दै आएको थियो। विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी पुस ३० गते गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।
प्रतिक्रिया