देशका विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० माघ २०८२, शुक्रबार ०७:३२

काठमाडौँ ।  देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशका विभिन्न भागमा मौसम बदली हुने पूर्वानुमान गरिएको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान छ। तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुन सक्नेछ।

आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यसैगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम हिमपातको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा असिनासहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसमी परिवर्तनका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply