भादगाउँ । मध्यपुरथिमि नगरपालिका–२, सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ। सुधारगृहभित्रका दुई समूहबीच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको प्रहरीले जनाएको छ।
घटनापछि थिमि प्रहरी वृत्तको टोलीले स्थिति नियन्त्रणमा लिन प्रयास गरेको थियो। तर झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति थप तनावग्रस्त बनेको थियो। त्यसपछि सशस्त्र प्रहरी बलका ५० जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।
मध्यरातमा भक्तपुर र काठमाडौंका वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। सुधारगृहमा भएको क्षतिको विवरण भने आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ।
उक्त बाल सुधारगृहमा हाल १४५ पुरुष र २४ महिला गरी १६९ जना रहेका छन्। अहिले स्थिति नियन्त्रणमा आएको भए पनि सुरक्षाकर्मीहरू बाक्लो संख्यामा तैनाथ गरी निगरानी भइरहेको जनाइएको छ।
प्रतिक्रिया