काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले ७ खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँको वैदेशिक व्यापार घाटा व्यहोरेको छ। यस अवधिमा कूल १० खर्ब ८१ अर्ब ४ करोड रुपैयाँको वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ।
गत पुस मसान्तसम्मको तथ्याङ्कअनुसार ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँको आयात हुँदा १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको छ। कूल व्यापारमा आयातको हिस्सा ८६.८६ प्रतिशत र निर्यात १३.१४ प्रतिशत रहेको छ।
पछिल्लो छ महिनामा भारतसँग सबैभन्दा ठूलो व्यापार घाटा रहेको छ। भारतबाट ५ खर्ब ३२ अर्ब रुपैयाँको आयात र १ खर्ब १५ अर्ब रुपैयाँको निर्यात हुँदा ४ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी घाटा भएको छ। चीनसँगको व्यापार घाटा १ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ।
यस अवधिमा पेट्रोलियम पदार्थ, सोयाविन तेल र स्मार्टफोन सबैभन्दा धेरै आयात भएका वस्तु हुन्। निर्याततर्फ भने सोयाविन तेल, अलैँची र कार्पेट प्रमुख रहेका छन्।
भन्सार विभागका अनुसार गत वर्षको सोही अवधिको तुलनामा कूल वैदेशिक व्यापार १७.३६ प्रतिशत र व्यापार घाटा १०.१५ प्रतिशतले वृद्धि भएको छ।
प्रतिक्रिया