सिमकोट (हुम्ला)। हुम्लामा यस वर्ष हिउँद याममा हिमपात नहुँदा किसान चिन्तित बनेका छन्। विगतका वर्षहरूमा मङ्सिर, पुस र माघ महिनामा बाक्लो हिमपात हुने गरे पनि यस वर्ष माघको पहिलो सातासम्म समेत हिमपात हुन सकेको छैन।
लामो समयसम्म हिउँ र वर्षा नहुँदा खडेरी पर्न सक्ने चिन्ताले किसानहरूमा अन्योल बढेको छ। विशेष गरी जौ, गहुँ र उवाजस्ता हिउँदे तथा जेठासी बालीको उत्पादन घट्ने आशङ्कामा कृषकहरू चिन्तित छन्।
स्थानीयका अनुसार केही दिनदेखि आकाशमा बादल देखिए पनि हिमपात हुन सकेको छैन। यसले हिमालहरू सेताम्य हुनुपर्ने समयमा सुक्खा देखिन थालेका छन्। किसानहरूले जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा हुम्लामा अपेक्षित हिमपात हुन छोडेको गुनासो गरेका छन्।
हिमपात र वर्षा नहुँदा हुम्लासहित कर्णाली प्रदेशका अन्य हिमाली जिल्लामा समेत कृषि उत्पादनमा असर पर्ने चिन्ता बढ्दै गएको छ।
प्रतिक्रिया