काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन प्रक्रियामा देखिएको उत्साहले राजनीतिक क्षेत्र मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जाको सञ्चार भएको बताएकी छन्।
मंगलबार एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा लामो समयदेखि देखिँदै आएको अन्योल र अनिश्चितताको अवस्था अन्त्य भइसकेको उल्लेख गर्दै सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको बताएकी हुन्।
आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि अर्को महत्वपूर्ण कोशेढुंगा पार गर्न सफल भएको उल्लेख गर्दै उनले निर्धारित समयसीमाभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवारहरूलाई धन्यवाद ज्ञापन गरेकी छन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण इमानदारी र सामर्थ्यका साथ लागिपरेको बताइन्। उनले सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै सबै सुरक्षा संयन्त्र उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालन गरिएको जानकारी दिइन्।
१६५ पदका लागि ३ हजार ४ सयभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता हुनु लोकतान्त्रिक प्रणालीप्रति जनताको प्रगाढ विश्वासको प्रमाण भएको प्रधानमन्त्रीको भनाइ छ। नेपाली जनता लोकतन्त्रलाई सुदृढ बनाउन सचेत र सक्षम रहेको कुरा हाल देखिएको उत्साहले पुष्टि गरेको उनले उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले दीगो लोकतान्त्रिक स्थायित्वका लागि सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई संयमित, सक्रिय र जिम्मेवार ढंगले निर्वाचन प्रक्रियामा सहभागी हुन अपिलसमेत गरेकी छन्।
प्रतिक्रिया