प्रतिनिधिसभा उम्मेदवारीका लागि नागरिकता अनिवार्य, धरौटी १० हजार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०८२, मंगलवार ०७:०५

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन दर्ता गर्दा नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा पेस गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।

आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। उम्मेदवारी दर्ताका क्रममा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रहेको आयोगले स्पष्ट गरेको छ। साथै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेस गर्नुपर्नेछ।

उम्मेदवारले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह, वा ती सरकारहरूको स्वामित्व वा नियन्त्रणमा रहेका वा अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक लिइ बहाल रहेको अवस्थामा त्यस्तो पदबाट राजीनामा दिएको निस्सा अनिवार्य रूपमा बुझाउनुपर्नेछ। सम्बन्धित अनुसूचीअनुसारको प्रतिनिधि मुकरर गरिएको फाराम पनि आवश्यक पर्ने आयोगले जनाएको छ।

प्रचलित कानुनबमोजिम योग्यता पुगेको व्यक्तिले उम्मेदवारी दर्ता गर्दा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ अनुसार सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थकको सहिछापसहितको मनोनयन पत्र बुझाउनुपर्ने व्यवस्था छ।

दलको तर्फबाट उम्मेदवारी दिएको भए सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिको अधिकारप्राप्त पदाधिकारीले प्रदान गरेको उम्मेदवार मनोनयनको औपचारिक पत्र अनिवार्य हुनेछ। एकल चुनाव चिह्न लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा भने प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसारको औपचारिक मनोनयन पत्र पेस गर्नुपर्नेछ।

उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा रु १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पनि बुझाउनुपर्नेछ। महिला तथा दलित, अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा भने उक्त धरौटी रकममा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। आर्थिक रूपमा विपन्न उम्मेदवारले सम्बन्धित स्थानीय तहबाट जारी गरिएको सिफारिस पत्र समेत पेस गर्नुपर्ने आयोगले जनाएको छ।

यसका साथै, उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको स्वघोषणा पत्र, आफ्नो चल तथा अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेका खाता, सेयर, ऋण तथा लेनदेनसम्बन्धी सम्पूर्ण विवरण सिलबन्दी रूपमा बुझाउनुपर्नेछ। वैयक्तिक विवरण फाराम भर्नु पनि अनिवार्य गरिएको छ।

यदि उम्मेदवारले यसअघि निर्वाचित, मनोनीत वा नियुक्त भएको कुनै निकायबाट पेस्की लिएको भए सो फर्छ्योट भएको निस्सा, वा लेखापरीक्षणबाट असुल उपर गर्नुपर्ने बेरुजु कायम भएको भए त्यसको फर्छ्योट प्रमाण पनि पेस गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply