काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म समानुपातिकतर्फ एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ गरिसकेको छ।
केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १३ हजार थान मतपत्र छपाइ गरिएको हो। निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कूल दुई करोड आठ लाख ३० हजार थान मतपत्र छपाइ गर्नुपर्नेछ, जसमध्ये केन्द्रले हालसम्म करिब ५० प्रतिशत छपाइ सम्पन्न गरिसकेको छ।
यसैगरी, केन्द्रले हालसम्म आयोगलाई १० लाख ९८ हजार २०० थान मतपत्र उपलब्ध गराइसकेको जनाएको छ। पछिल्लो २४ घण्टामा एक हजार ४३१ बाकस मतपत्रको प्याकिङ सम्पन्न भएको छ।
केन्द्रका अनुसार हालसम्म कूल सात हजार ८४१ बाकस मतपत्र प्याकिङ भइसकेको छ भने १२ हजार ९८९ बाकस प्याकिङ गर्न बाँकी रहेको छ।
उता, प्रत्यक्षतर्फका मतपत्र भने उम्मेदवारको मनोनयन, दाबी–विरोध प्रक्रिया सम्पन्न भई अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह प्रदान गरेपछि मात्र छपाइ सुरु हुने जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ।
प्रतिक्रिया