काठमाडौँ । प्राइम टेलिभिजनका चर्चित पत्रकार ऋषि धमला पनि प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भएका छन्। धमलाले सोमबार राति प्रसारण भएको आफ्नो चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मार्फत रौतहटबाट चुनाव लड्ने घोषणा गरेका हुन्।
चुनावी यात्रामा होमिन लागेका धमलाले निर्वाचन अवधिभर ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम आफूले नचलाउने स्पष्ट गर्दै कार्यक्रमको जिम्मेवारी आफ्ना सहकर्मी पत्रकार ऋषि थपलियालाई हस्तान्तरण गर्ने जानकारी दिएका छन्।
कार्यक्रममै बोल्दै धमलाले भने,
“आज म भन्न चाहन्छु— ‘जनता जान्न चाहन्छन्’ कार्यक्रम भोलिबाट हाम्रै सहकर्मी मित्र ऋषि थपलियालाई हस्तान्तरण गर्न जाँदैछु। तर म यस कार्यक्रमसँग टाढा हुँदैन। म आफ्नो धारणा राख्नेछु, उहाँलाई पूर्ण समर्थन र सहयोग गर्नेछु।”
धमलाले थपलियालाई साथ दिँदै कार्यक्रमलाई अझ प्रभावकारी र लोकप्रिय बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
“‘जनता जान्न चाहन्छन्’ कार्यक्रमलाई नम्बर वान बनाउन उहाँलाई जहिले पनि साथ दिनेछु,” धमलाले भने।
धमलाको चुनावी घोषणासँगै पत्रकारिताबाट राजनीतितर्फको यात्राले चर्चा पाएको छ। रौतहटबाट उनको उम्मेदवारीले स्थानीय राजनीतिक समीकरणमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।
प्रतिक्रिया