कांग्रेस आधिकारिकतासम्बन्धी रिट फिर्ता नलिने देउवा सचिवालयको स्पष्टोक्ति, टिकट वितरणमा सहमतिको प्रयास जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ माघ २०८२, मंगलवार ०६:५१

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ताको अघिल्लो दिन अर्थात् सोमबार राति (माघ ५, २०८२) नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको सचिवालयले कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा सर्वोच्च अदालतमा दायर रिट फिर्ता नलिने स्पष्ट पारेको छ।

देउवाका स्वकीय सचिव भानु देउवाले सोमबार राति एक प्रेस नोट जारी गर्दै यस विषयमा गलत समाचार प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

यसैबीच, देउवाकै शैलीमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि सर्वोच्च अदालतमा आफूले दायर गरेको रिट निवेदन फिर्ता नलिने बताएका छन्। तर देउवा पक्षकै एक नेताका अनुसार पार्टीभित्र सहमतिमा टिकट वितरण गर्ने र अदालतमा परेको रिट फिर्ता लिएर एकताबद्ध रूपमा निर्वाचनमा जाने समझदारी बनेपछि टिकट वितरण प्रक्रियामा तीनै पक्ष सहभागी भएका हुन्।

स्रोतका अनुसार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिन देउवा पक्षभित्र तीव्र दबाब बढ्दै गएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का बाहेक देउवा पक्षका अधिकांश नेताहरू रिट फिर्ता लिन सहमत भइसकेको ती नेताले दाबी गरेका छन्।

यसै समझदारीअनुसार सभापति गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर देउवाका विश्वासपात्र नेताहरू उम्मेदवारी दर्ताका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा प्रस्थान गरेका छन्।

टिकट पाउने नेताहरूमा पूर्व उपसभापति विमलेन्द्र निधि (धनुषा क्षेत्र नं. ३), प्रकाशशरण महत (नुवाकोट क्षेत्र नं. १), पूर्व उपसभापति विजय गच्छदार (सुनसरी क्षेत्र नं. ३), ज्ञानेन्द्र कार्की (सुनसरी क्षेत्र नं. ४), एनपी साउद (कञ्चनपुर क्षेत्र नं. २) र देउवा समूहकै रामहरि खतिवडा (ओखलढुंगा) रहेका छन्।

सोमबार बसेको कांग्रेस संसदीय बोर्ड बैठकले विजय गच्छदारलाई सुनसरी क्षेत्र नं. ३ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो।

कांग्रेसभित्र अदालतमा विचाराधीन रिट र टिकट वितरण प्रक्रियाबारे फरक–फरक मत देखिए पनि नेतृत्व तहमा सहमतिको प्रयास जारी रहेको नेताहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply