काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीस्वरूप खरेलले मन्त्री पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। खरेल ललितपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने तयारीमा रहेको बताइएको छ।
खरेल निर्वाचन गराउने जिम्मेवारीसहित प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएका थिए। तर सरकारमा रहँदै रास्वपामैत्री गतिविधि गरेको आरोप लागेपछि प्रधानमन्त्री कार्कीले उनलाई पदबाट राजीनामा दिन सुझाव दिएको स्रोतको दाबी छ।
उनको राजीनामापछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी कसलाई दिइने भन्ने विषयमा भने औपचारिक जानकारी आइसकेको छैन।
प्रतिक्रिया