काठमाडौं । जाडो मौसममा छालासम्बन्धी समस्या बढ्ने गर्छन्। यस समयमा खासगरी छाला रुखो र सुक्खा हुने, फुट्ने, चिलाउने, हात–गोडा फुट्ने, छालाको पत्र निस्कने, अनुहारमा चाया–पोतो देखिने तथा बढ्ने समस्या देखिन्छ। त्यस्तै टाउकोमा चाया पर्ने समस्या पनि जाडोमा सामान्य रूपमा देखिने गर्छ।
छाला विशेषज्ञहरूका अनुसार जाडोमा छालाको प्राकृतिक नमी घट्ने भएकाले छालालाई विशेष स्याहार आवश्यक पर्छ।
नुहाइसकेपछि मोइस्चराइजर अनिवार्य
नुहाएको २–३ मिनेटभित्रै मोइस्चराइजर लगाउनु सबैभन्दा महत्वपूर्ण मानिन्छ। नुहाइसकेपछि छालामा अलिकति पानी बाँकी रहँदा त्यसलाई ‘लक’ गर्न क्रिम वा लोशन प्रयोग गर्नुपर्छ।
राति सुत्नुअघि विशेष स्याहार
राति सुत्नुअघि हात–खुट्टा, कुहिनो र घुँडामा भ्यासलिन, बोरोलिन वा बडी लोशन लगाउन सकिन्छ। यसले छाला अत्यधिक सुख्खा हुन र फुट्नबाट जोगाउँछ।
जाडोमा पनि सनस्क्रिन आवश्यक
गर्मीमा जस्तै जाडोमा पनि सनस्क्रिन प्रयोग गर्नुपर्छ। जाडो मौसममा घाम ताप्ने बानी बढ्ने भएकाले घामको हानिकारक किरणले छालामा असर पार्न सक्छ।
नियमित मालिस फाइदाजनक
जाडोमा नियमित मालिस छालाका लागि राम्रो मानिन्छ। नरिवलको तेल प्रयोग गरेर मालिस गर्दा छाला नरम हुनुका साथै चम्किलो पनि हुन्छ।
हिटर र आगोबाट सावधानी
जाडोमा न्यानो हुन आगो, हिटर वा एसी प्रयोग गरिन्छ। यस्ता उपकरणले वरिपरिको हावा सुख्खा बनाउने भएकाले छालाको नमी सोसिन्छ। त्यसैले आगो, हिटर वा एसीबाट केही दूरी बनाएर बस्नुपर्छ।
हात–खुट्टा फुट्ने समस्यामा ध्यान
जाडोमा हात–खुट्टा फुट्ने समस्या धेरैमा देखिन्छ। यसबाट बच्न दैनिक बडी लोशन प्रयोग गर्नुपर्छ। साथै राति सुत्ने बेला नरिवलको तेल लगाएर हल्का मालिस गर्नु लाभदायक हुन्छ।
भित्रैबाट छालाको स्याहार
छालाको स्वास्थ्यका लागि दिनमा करिब ३ लिटर पानी पिउनु उपयुक्त हुन्छ। साथै बदाम, आलस, अखरोट, काजु, माछा, अण्डा, दालजस्ता प्रोटिनयुक्त खानेकुरा तथा पालुङ्गो, गाजर र हरियो सागसब्जी बढी खानु फाइदाजनक मानिन्छ।
प्रतिक्रिया