काठमाडौं । हप्तामा १० घण्टाभन्दा बढी भिडियो गेम खेल्दा युवाहरूको खानपान, निद्रा र शरीरको तौलमा गम्भीर असर पर्ने एक अध्ययनले देखाएको छ। अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीको नेतृत्वमा गरिएको अनुसन्धानले अत्यधिक गेमिङ गर्ने युवामा मोटोपन, अस्वस्थ खानपान र अनिद्राजस्ता समस्या बढ्ने पुष्टि गरेको हो।
‘न्यूट्रिशन’ जर्नलमा प्रकाशित यस अध्ययनमा पाँच विश्वविद्यालयका ३१७ जना विद्यार्थी सहभागी थिए। अनुसन्धानकर्ताहरूले सहभागीहरूलाई गेम खेल्ने समयका आधारमा तीन समूहमा वर्गीकरण गरेका थिए। हप्तामा ५ घण्टासम्म खेल्नेहरूलाई निम्न समूह, ५ देखि १० घण्टासम्म खेल्नेहरूलाई मध्यम समूह र १० घण्टाभन्दा बढी खेल्नेहरूलाई उच्च समूहमा राखिएको थियो।
अध्ययनअनुसार निम्न र मध्यम समूहका विद्यार्थीहरूको स्वास्थ्य अवस्था तुलनात्मक रूपमा सामान्य देखिए पनि हप्तामा १० घण्टाभन्दा बढी भिडियो गेम खेल्नेहरूमा भने स्पष्ट रूपमा नकारात्मक स्वास्थ्य असर देखिएको निष्कर्ष निकालिएको छ।
कर्टिन स्कूल अफ पपुलेसन हेल्थका प्रोफेसर मारियो सिर्भोका अनुसार लामो समय गेममा बिताउने विद्यार्थीहरूमा असन्तुलित आहार, शारीरिक निष्क्रियता र उच्च मोटोपनाको समस्या बढी पाइयो।
त्यस्तै, सबै समूहका खेलाडीहरूमा केही हदसम्म निद्राको गुणस्तर कमजोर देखिए पनि हप्तामा १० घण्टाभन्दा बढी गेम खेल्नेहरूमा निद्रामा गम्भीर अवरोध देखिएको अध्ययनले जनाएको छ।
अध्ययनले स्वास्थ्य जोखिम कम गर्न राति अबेरसम्म भिडियो गेम नखेल्न, सन्तुलित खानपान अपनाउन र नियमित तथा स्वस्थ दिनचर्या कायम गर्न सुझाव दिएको छ।
प्रतिक्रिया