बौडेश्वर बालमैत्री पार्क उद्घाटन – टोखालाई काठमाडौँकै आकर्षक पर्यटकीय गन्तव्य बनाउने मेयर अधिकारीको प्रतिबद्धता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ माघ २०८२, सोमबार ०७:४३

काठमाडौँ । टोखा नगरपालिकाले स्थानीय पर्यटन र बालमैत्री पूर्वाधार विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शुक्रबार वडा नम्बर–१ मा निर्माण सम्पन्न भएको बौडेश्वर बालमैत्री पार्कको भव्य उद्घाटन गर्दै टोखालाई काठमाडौँ उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।

बौडेश्वर झर्ना नजिकै करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको पार्क उद्घाटनसँगै स्थानीय संरक्षण समितिलाई औपचारिक रूपमा चाबी हस्तान्तरण गरिएको छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर अधिकारीले भने,
“यो पार्क केवल संरचना होइन, टोखाको पहिचान हो। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैका लागि सुरक्षित, रमाइलो र प्रकृतिसँग जोडिने साझा थलो बनाउने हाम्रो सपना आज साकार भएको छ।”

मेयर अधिकारीले पार्क निर्माणमा काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाबीचको सहकार्यलाई उदाहरणीय भन्दै ३ करोड १२ लाख रुपैयाँ लागतमा सम्पन्न परियोजनाले नगरको दीर्घकालीन विकासमा नयाँ सम्भावना खोलेको बताए।

“टोखा अब विकासमा पछि छैन। पर्यटन, वातावरण संरक्षण र बालमैत्री पूर्वाधारलाई सँगसँगै अघि बढाउँदै समृद्ध नगर बनाउने यात्रामा हामी दृढ छौँ,” उनले जोड दिए।

झर्ना, पिङ, आरामस्थल, खुला मनोरञ्जन क्षेत्रलगायतका संरचना रहेको यो पार्क बालबालिकाका लागि खेल्ने थलो मात्र नभई परिवारसँग समय बिताउने उत्कृष्ट गन्तव्य बनेको छ। उद्घाटन समारोहमा मेयर अधिकारीले पार्कको संरक्षण र दिगो सञ्चालनमा स्थानीयवासीको भूमिकालाई निर्णायक भन्दै भने,
“संरचना बनाउनु सरकारको दायित्व हो, तर यसको संरक्षण र सुन्दरता जोगाउनु नागरिकको जिम्मेवारी हो।”

कार्यक्रममा उपमेयर, जनप्रतिनिधिहरू तथा प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले पनि मन्तव्य दिँदै पार्क सञ्चालनले स्थानीय पर्यटन, आर्थिक गतिविधि र रोजगारी सिर्जनामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

सञ्चारकर्मी, स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको बाक्लो उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो। कार्यक्रम सञ्चालन नगरपालिकाका कर्मचारी मधु आचार्यले गरेका थिए।

पार्कसम्म पुग्ने बाटो कालोपत्रे गरिएकाले अब सहज यात्रा सम्भव भएको छ। यसले आन्तरिक मात्र नभई बाह्य पर्यटकलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ। स्थानीयवासीहरू पार्क सञ्चालनसँगै व्यवसाय, रोजगारी र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्छन्।

समापनमा मेयर अधिकारीले सम्पूर्ण टोखाबासीलाई बधाई तथा शुभकामना दिँदै स्पष्ट सन्देश दिए—
“विकास भाषणमा होइन, परिणाममा देखिनुपर्छ। बौडेश्वर बालमैत्री पार्क त्यसकै प्रमाण हो।”

बौडेश्वर बालमैत्री पार्क सञ्चालनमा आएसँगै टोखाले अब प्रकृति, पर्यटन र बालमैत्री विकासको संगमका रूपमा नयाँ परिचय पाउने संकेत देखिएको छ।

प्रतिक्रिया

slot gacor