काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याएको हो। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता स्वीकृत गरी कार्यान्वयन गरिएको आयोगले जनाएको छ। आचारसंहिता नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ।
आयोगबाट अर्को सूचना जारी नभएसम्म आचारसंहिता विभिन्न निकाय तथा त्यहाँ कार्यरत व्यक्तिहरूमा लागू हुनेछ। आयोगका अनुसार नेपाल सरकार तथा मन्त्रीहरू, प्रदेश सरकार तथा मन्त्रीहरू, संवैधानिक निकाय र तिनका पदाधिकारी, साथै संघ, प्रदेश र स्थानीय तहका सरकारी निकाय तथा पदाधिकारीहरू आचारसंहिताको दायरामा पर्नेछन्।
त्यसैगरी स्थानीय कार्यपालिका र सदस्य, संघ–प्रदेश–स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका पदाधिकारी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, राजनीतिक दल तथा तिनका भातृ संगठनहरू पनि आचारसंहितामा समेटिएका छन्।
उम्मेदवार, राजनीतिक दल तथा उम्मेदवारका निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समिति र अनुगमनकर्ताहरूलाई पनि आचारसंहिता लागू हुनेछ।
यसैगरी पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय र विश्वविद्यालय तथा तिनका शिक्षक–कर्मचारी पनि आचारसंहिताको दायरामा परेका छन्।
आयोगका अनुसार मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी परियोजना र त्यहाँ कार्यरत कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा कर्मचारी, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्र, वस्तु तथा सेवा प्रदायक संस्था र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिहरूमा समेत आचारसंहिता लागू हुनेछ।
आचारसंहिताको पूर्ण कार्यान्वयन र पालना सुनिश्चित गर्न आयोगले सबै पक्षको सहयोग अपेक्षा गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।














प्रतिक्रिया