काठमाडौँ। बौद्धधर्मालम्बीहरूको तेस्रो लोसार पर्व २८६२ औँ सोनाम लोसार आज (सोमबार) विश्वभर श्रद्धा, उल्लास र उत्सवका साथ मनाइँदैछ। कोङपो र तोला लोसारपछि मनाइने सोनाम लोसार बौद्धधर्मालम्बीहरूको तेस्रो ठूलो पर्वका रूपमा मानिन्छ। अन्तिम र सबैभन्दा ठूलो पर्वका रूपमा भने ग्याल्पो लोसार मनाउने परम्परा छ।
सोनाम लोसार चीन, थाइल्याण्ड, श्रीलंका, म्यान्मार, अमेरिका लगायतका देशहरूमा विशेष उत्सवका साथ मनाइने गरिन्छ। यो पर्व बौद्ध समुदायका लागि नयाँ वर्षको प्रतीक हो, जसलाई प्रत्येक वर्ष परम्परागत विधि र सांस्कृतिक कार्यक्रममार्फत स्वागत गरिन्छ। नेपालमा शेर्पा, तामाङ, लामा, भोटे, थकाली, ह्योल्मो, गुरुङ लगायतका समुदायले सोनाम लोसार मनाउने चलन छ।
लोसार १२ वर्षे चक्रअनुसार मनाइन्छ, जसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर वर्ष क्रमशः फेरिँदै जान्छन्। आजबाट सर्प वर्ष समाप्त भई घोडा वर्ष सुरु भएको छ।
लोसारको अवसरमा काठमाडौँको बौद्ध, टुँडिखेल लगायत देशभर विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत–नृत्य, पूजापाठ तथा विविध कार्यक्रम आयोजना गरिँदैछ। समुदायबीच शुभकामना आदान–प्रदान गर्दै पर्व मनाउने चलन छ। यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
पर्वको उपलक्ष्यमा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश व्यक्त गर्दै शान्ति, समृद्धि र सद्भावको कामना गरेका छन्।
प्रतिक्रिया