काठमाडौँ। बुढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखाको आयोजनामा जलन (Burn) को उपचार तथा रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुढानीलकण्ठ नगरपालिका सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रममा स्वास्थ्यकर्मी तथा विज्ञहरूले जलन हुँदा अपनाउनुपर्ने सही प्राथमिक उपचार विधिबारे जानकारी गराएका थिए। चिकित्सकका अनुसार जलन भएको अवस्थामा गोलभेडा, काक्रो, घ्युकुमारी, आलु तथा मञ्जनजस्ता घरेलु पदार्थ प्रयोग नगर्न सचेत गराइएको छ, किनभने यसले संक्रमणको जोखिम बढाउन सक्छ।
चिकित्सकहरूले जलन भएको शरीरको भागलाई सफा पानीमा नडुबाई, सफा पानीको धारामा करिब ३० मिनेटसम्म राख्न सकिने जानकारी दिएका थिए। यसरी तुरुन्तै सही तरिकाले प्राथमिक उपचार गर्न सके जलनको गम्भीरता कम गर्न सकिने उनीहरूको भनाइ थियो।
अभिमुखीकरण कार्यक्रममा जलनका कारण, रोकथामका उपाय, जोखिम समूह तथा अस्पताल लैजानुपर्ने अवस्थाबारे समेत व्यावहारिक जानकारी प्रदान गरिएको थियो। सहभागीहरूले यस्ता जनचेतनामूलक कार्यक्रमले समुदायस्तरमा स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

प्रतिक्रिया