काठमाडौँ। कृषि उत्पादनको सूचकाङ्कमा वृद्धि देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूचकाङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा समग्र कृषि उत्पादन मूल्य सूचकाङ्क १९३.७२ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५ प्रतिशतले वृद्धि हो।
तथ्याङ्कअनुसार अण्डाको मूल्य सूचकाङ्कमा सबैभन्दा उच्च वार्षिक वृद्धि दर ९.५ प्रतिशत देखिएको छ। यसबाहेक वर्षे मकैको मूल्य सूचकाङ्क ३.८ प्रतिशतले बढेको छ। यस्तै, माछा ३.६ प्रतिशत र अन्नबाली ३.१ प्रतिशतले वृद्धि भएको छ।
धान र दूधको मूल्य क्रमशः २.४ प्रतिशतको वृद्धिदरसहित स्थिर देखिएको छ। तर मसला बालीको मूल्य वृद्धिदर ०.८ प्रतिशत मात्र रहेकाले यस क्षेत्रमा तुलनात्मक स्थिरता देखिएको तथ्याङ्कले जनाएको छ।
यसैगरी फलफूल बाली ०.८ प्रतिशत र तरकारी बाली ०.२ प्रतिशतले मामुली रूपमा बढेका छन्। पशु र पंक्षीको मूल्य क्रमशः १.१ प्रतिशत र ०.७ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो सूचकाङ्कले नेपालमा कृषि उत्पादनको मूल्य वृद्धिको दिशा र कृषि बजारको समग्र प्रवृत्ति बुझ्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया