संविधान उत्कृष्ट छ, यसको संरक्षण आवश्यक छ : पूर्वराष्ट्रपति रामवरण यादव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०८२, आईतवार ०७:१९

काठमाडौँ। पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै यसको संरक्षण र कार्यान्वयनमा सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज नुवाकोटको शिवपुरी गाउँपालिका–७, सुइरेचौरमा आयोजित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

यादवले २०७२ सालको संविधान समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता लगायतका विशेषताका कारण उत्कृष्ट बनेको उल्लेख गरे। उनले लोकतन्त्र पुनःस्थापनाका लागि गोविन्द वियोगीले निर्वाह गरेको ऐतिहासिक भूमिकाको उच्च प्रशंसा पनि गरे।

साथै, उनले सम्पादक समाज नेपालले पत्रकारिता र बौद्धिक जगतमार्फत नेपाली समाजलाई उन्नति र प्रगतितर्फ रूपान्तरण गर्न सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिए।

फरक प्रसङ्गमा पूर्वराष्ट्रपति यादवले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको नेपाली कांग्रेस आजको अवस्थामा आइपुग्नु दुःखद भएको टिप्पणी गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा सबै राजनीतिक शक्तिको साझा दायित्व भएको बताए।

प्रतिक्रिया