राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि, सिंहदरबारमै सञ्चालन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ माघ २०८२, आईतवार ०७:११

काठमाडौँ। राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबार माघ ४ गते बिहान ११:०० बजेदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि यसपटक अधिवेशन सिंहदरबारस्थित संघीय संसद् सचिवालयमै सञ्चालन गर्ने तयारी गरिएको छ।

अधिवेशनको तयारीका लागि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका छन्। पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने तथा हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनका सबै तयारी पूरा भइसकेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को पुस २८ गतेको सिफारिसमा माघ ४ गते आइतबार ११:०० बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन्। यसअघि राष्ट्रियसभाको १८औँ अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभाका १९ सदस्यको निर्वाचनका लागि तयारी अगाडि बढाएको छ। आयोगका अनुसार एकजना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभामा नयाँ सदस्यहरू निर्वाचित भएर आउने सन्दर्भमा यो अधिवेशनलाई महत्त्वका साथ हेरिएको छ।

प्रतिक्रिया