ललितपुर । राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालको १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन ललितपुरमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले प्रविणकुमार रेग्मीको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिअनुसार
उपाध्यक्ष : राजु सुनार
महासचिव : प्रमोद न्यौपाने
सचिव : रूपा कठायत
कोषाध्यक्ष : सुवर्ण लौडारी
सह–कोषाध्यक्ष : डोल्मा लामा भण्डारी
प्रवक्ता : द्रोणाचार्य पराजुली
रहेका छन्।
यसैगरी सदस्यहरूमा सुजाता पुडासैनी, सचिनकुमार सिंह, रिमुकुमारी लेखी र रेश्मा कालाथोकी चयन भएका छन्।
कार्यक्रमको सुरुवात महासङ्घका उपाध्यक्ष दीपक कार्कीको स्वागत मन्तव्यबाट भएको थियो। महासङ्घका केन्द्रीय अध्यक्ष शशि शर्मा मजगैयाँको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा संस्थाका सल्लाहकार डा. टिका ढकालले महासङ्घको ऐतिहासिक पृष्ठभूमि, यसको लामो विरासत तथा समाज विकासमा खेलेको महत्वपूर्ण भूमिकाबारे प्रकाश पार्नुभयो।
उद्घाटन सत्रमा बोल्दै अध्यक्ष मजगैयाँले महासङ्घले समाज विकासका बहुआयामिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै सहयात्रीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो। उहाँ भावुक हुँदै नीतिगत बहस र नीति निर्माणका तहमा युवाको प्रभावकारी उपस्थिति, जलवायु परिवर्तन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका क्षेत्रमा महासङ्घको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
कार्यक्रमको दोस्रो सत्रमा महासङ्घका महासचिव राजु सुनारले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष प्रदीप शर्मा चौलागाईंले आर्थिक प्रतिवेदन पेश गर्नुभयो।
ओमप्रकाश लामिछानेको संयोजनमा तथा डा. टिका ढकाल र किशोर रिजाल सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया अघि बढाएको थियो।
सर्वसम्मत रूपमा निर्वाचित नवनिर्वाचित अध्यक्ष प्रविणकुमार रेग्मीले महासङ्घको गौरवशाली इतिहासलाई संरक्षण गर्दै हालसम्म हासिल उपलब्धिको जगमा उभिएर आगामी दिनमा संस्थालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।


प्रतिक्रिया