काठमाडौं । बुढानीलकण्ठ नगरपालिका, हात्तीगोडा, काठमाडौंको आयोजनामा नगर सभा सदस्यहरूका लागि विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी दुई दिने तालिम कार्यक्रम सुरु भएको छ। तालिम २०८२ साल पौष २९ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ।
तालिम कार्यक्रमको उद्घाटन बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा उप–प्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायतको विशेष उपस्थिति रहेको थियो। तालिममा नगरपालिकाअन्तर्गतका विभिन्न वडाका वडा सदस्यहरूको सहभागिता रहेको छ।
कार्यक्रममा स्थानीय तहमा विकास निर्माण प्रक्रिया, योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन, सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शिता र जवाफदेहिता जस्ता विषयमा प्रशिक्षण प्रदान गरिनेछ। नगर सभा सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै विकास निर्माणका कार्यलाई प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।
तालिम कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले स्थानीय सरकारका जनप्रतिनिधि सक्षम र जानकारीपूर्ण भए मात्र दिगो विकास सम्भव हुने उल्लेख गरे। उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न सहभागीहरूलाई आग्रह गरे।
यसैगरी उप–प्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले स्थानीय तहमा सुशासन प्रवर्द्धन, सेवा प्रवाह सुधार तथा विकास निर्माणका योजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न यस्ता तालिम कार्यक्रम अत्यन्त उपयोगी हुने धारणा व्यक्त गरे।
बुढानीलकण्ठ नगरपालिकाले आगामी दिनहरूमा पनि जनप्रतिनिधि तथा कर्मचारीहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया