अनौपचारिक श्रमिकका लागि सामाजिक सुरक्षा कोषबारे बुढानीलकण्ठमा अन्तरक्रिया सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ माघ २०८२, बुधबार ०७:१९

बुढानीलकण्ठ, काठमाडौँ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालय र बुढानीलकण्ठ नगरपालिका बीच अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

मङ्गलबार बुढानीलकण्ठ नगरपालिकाको कार्यपालिका हलमा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको विशेष उपस्थिति रहेको थियो। साथै सम्बन्धित निकायका प्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा सरोकारवाला पक्षहरूको सहभागिता रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने प्रक्रिया, योगदान प्रणाली, प्राप्त हुने सुविधा तथा कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले श्रमिकको सामाजिक तथा आर्थिक सुरक्षाका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै यस विषयमा नगरपालिकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

उप–प्रमुख अनिता लामाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु स्थानीय तहको साझा दायित्व भएको बताउँदै यस्ता कार्यक्रमले श्रमिकमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन्।

प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले सामाजिक सुरक्षा कोषसम्बन्धी नीति तथा प्रक्रियालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न नगरपालिकाले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने जानकारी गराए।

कार्यक्रमले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषयमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्। आगामी दिनमा प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

slot gacor