त्रिशूली किनारमा ‘गणपति डिलक्स’ बस फेला, अझै यात्रु बेपत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ माघ २०८२, बुधबार ०७:०४

काठमाडौँ । त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा ‘गणपति डिलक्स’ लेखिएको यात्रुबाहक बस फेला परेको छ। तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोद्राङ बेसी नजिक त्रिशूली नदी किनारमा बसका पार्ट्सपुर्जा देखिएपछि खोजी कार्य सुरु गरिएको थियो।

खोजीका क्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु तनहुँबाट खटिएको संयुक्त सुरक्षा टोलीले उक्त बस फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उक्त ‘गणपति डिलक्स’ बस काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको हो। सोही दिन वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको ‘एन्जल डिलक्स’ बस समेत २०८१ असार २८ गते बिहान चितवनको सिमलताल क्षेत्रमा पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएको थियो।

गणपति डिलक्स बसमा सवार ३१ जनामध्ये ३ जनाले नदीमा हाम फालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए। हालसम्म बेपत्ता भएकामध्ये १४ जनाको शव फेला परिसकेको छ भने बाँकी यात्रुको अवस्था अझै अज्ञात रहेको छ।

दुवै बस दुर्घटनापछि लगातार खोजी तथा उद्धार कार्य जारी रहे पनि त्रिशूली नदीको बहाव, गहिराइ र भौगोलिक कठिनाइका कारण सबै बेपत्ताको खोजीमा चुनौती भइरहेको सुरक्षा निकायले जनाएको छ।

प्रतिक्रिया

slot gacor