काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनबाट आफूलाई कुनै पद नचाहिएको स्पष्ट पारेका छन्। विशेष महाधिवेशन पक्षधर समूहद्वारा आयोजित बन्द सत्रको दोस्रो दिन मंगलबार सम्बोधन गर्दै उनले पार्टी रूपान्तरणका लागि उठाइएको आवाजलाई विद्रोहका रूपमा परिभाषित गरे।
थापाले भने,
“यो विद्रोह हो। प्रश्न गर्नु आफैँमा विद्रोह हो। मौनता साँध्नु भनेको मृत्युलाई अँगाल्नु जस्तै हो।”
उनले पार्टीभित्र वैचारिक गुठभन्दा गिरोह प्रवृत्ति हाबी हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसलाई समयअनुकूल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए। पार्टीलाई बचाउन र बलियो बनाउन आन्तरिक सुधार अपरिहार्य भएको उनको भनाइ थियो।
महामन्त्री थापाले पार्टीभित्र र बाहिर फैलाइएका हल्लाको पछि नलाग्न नेता–कार्यकर्तालाई आग्रह गरे। उनले भने,
“अहिले बाहिर अनेक हल्ला चलाइएको छ। कोही भागबण्डाका लागि उठेको भनेर प्रचार गरिएको छ। म हल्लाको पछि गएको छैन, तपाईँहरू पनि नलाग्नुस्। यो हलको म्याण्डेटलाई हामी सबैले मान्नुपर्छ। बाहिर हुने सहमतिलाई यो हलले अपनत्व दिएपछि मात्रै अगाडि बढ्छ।”
उनले विशेष महाधिवेशनलाई जिम्मेवार, संस्थागत र उपलब्धिमूलक ढंगले टुंग्याउनुपर्नेमा जोड दिँदै व्यक्तिगत आकांक्षाभन्दा पार्टीको भविष्यलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
प्रतिक्रिया