काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन भएपछि त्यसको वैधानिक प्रक्रिया पूरा गर्न निर्वाचन आयोगसम्म पुग्नुपर्ने बताएका छन्।
मंगलबार काठमाडौँमा सम्पन्न बन्द सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले विशेष महाधिवेशनको निर्णय केवल आन्तरिक रूपमा सीमित नराखी कानुनी र संवैधानिक रूपमा पनि दर्ता गरिनुपर्ने स्पष्ट पारे। उनले भने,
“नेतृत्व चयन गरिसकेपछि कतिपय घर फर्किन सक्नुहुन्छ, तर निर्वाचन आयोगले पर्खिरहेको हुन्छ। विशेष महाधिवेशनबाट कस्तो नेतृत्व चयन भयो, के निर्णय लिएर आयो भनेर आयोगले हेरेको हुन्छ। त्यसैले हामीले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ सबै कुरा पुर्याउनुपर्छ।”
महामन्त्री शर्माले उम्मेदवारी दर्ता भए पनि सबै अवस्थामा चुनावमै जानुपर्ने बाध्यता नहुने उल्लेख गरे। उनले पार्टीको हितमा सर्वसम्मतिको संस्कृतिलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने,
“कतिपय साथीलाई लाग्न सक्छ, मैले उम्मेदवारी दर्ता गरेको छु, चुनाव जित्छु। तर कतिपय अवस्थामा हामीले भन्नुपर्ने हुनसक्छ— उम्मेदवारी दर्ता भयो, अब सर्वसम्मत रूपमा आउनुस्।”
उनले पार्टीको आगामी राजनीतिक यात्रामा जुझारुपन, जिम्मेवारी र संस्थागत निर्णयको सम्मान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। महामन्त्री शर्माको भनाइले विशेष महाधिवेशनपछि कांग्रेसले वैधानिक र एकताबद्ध बाटो समात्नुपर्ने सन्देश दिएको विश्लेषकहरूको टिप्पणी छ।
प्रतिक्रिया