काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधान गर्न गठन गरिएको वार्ता टोलीले तयार पारेको मध्यमार्गी प्रस्ताव समेत सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि नेपाली कांग्रेस गम्भीर विभाजनको संघारमा पुगेको छ। पार्टी सञ्चालनका लागि हाईकमान्ड बनाएर आगामी १५औँ महाधिवेशनसम्म सभापति देउवालाई ‘सेरोमोनियल’ भूमिकामा सीमित राख्ने प्रस्ताव पनि अस्वीकार भएपछि संकट झनै चर्किएको हो।
सोमबार सभापति देउवाको पहलमा सुरु भएको वार्तामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा तीन सदस्यीय समिति र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको चार सदस्यीय समितिबीच पटक–पटक संवाद भएको थियो।
सभापति देउवाको तर्फबाट वार्तामा कार्यवाहक सभापति खड्का, नेता रमेश लेखक र बालकृष्ण खाण सहभागी थिए भने महामन्त्रीद्वयको टोलीमा प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे खटिएका थिए।
विशेष महाधिवेशन पक्षधर नेताहरूले सभापति देउवाले राजीनामा दिएर पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्ने अडान लिएका छन्। राजीनामाको विकल्पका रूपमा उनीहरूले पार्टी सञ्चालनका लागि सामूहिक हाईकमान्ड गठन गर्ने प्रस्ताव अघि सारेका थिए।
उक्त प्रस्तावअनुसार कार्यवाहक सभापति, महामन्त्रीद्वय तथा नेता शेखर कोइरालासहितको हाईकमान्ड बनाएर पार्टी सञ्चालन गर्ने योजना थियो। तर संस्थापन पक्षबाट वार्तामा सहभागी केन्द्रीय सदस्यद्वय बालकृष्ण खाण र रमेश लेखकले यस विषयमा सभापतिकै सहमति आवश्यक पर्ने भन्दै देउवा निवासमा छलफल गरेका थिए।
छलफलपछि सभापति देउवाले हाईकमान्ड गठन तथा आफूलाई सेरोमोनियल भूमिकामा सीमित गर्ने प्रस्ताव दुवै अस्वीकार गरेपछि वार्ता निष्कर्षविहीन बनेको छ। देउवाको अडानपछि पार्टीभित्रको दूरी अझ गहिरिएको र कांग्रेस औपचारिक विभाजनतर्फ धकेलिन सक्ने अवस्था सिर्जना भएको नेताहरूको भनाइ छ।
पार्टीको आन्तरिक विवाद समाधानका प्रयास असफल बन्दै गएपछि अब नेतृत्व संघर्ष, विशेष महाधिवेशनको दबाब र सम्भावित विभाजन कांग्रेसका लागि सबैभन्दा ठूलो चुनौती बनेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
प्रतिक्रिया