काठमाडौं । संस्कृति जगेर्ना र पहिचान संरक्षणका लागि स्थानीय सरकार र समुदायबीचको सहकार्य अनिवार्य रहेको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राजिव थापाले बताउनुभएको छ।
गोकर्णेश्वर गुरूङ (तमु) समाजद्वारा जगडोलमा आयोजना गरिएको तमु ल्होसार शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष थापाले परम्परा, भाषा, भेषभूषा र संस्कृतिको संरक्षणमा समुदायको भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो।
“संस्कृति कुनै एक समुदायको मात्र सम्पत्ति होइन, यो सिङ्गो समाजको साझा पहिचान हो। यसको जगेर्नाका लागि स्थानीय सरकार र समुदायबीच निरन्तर सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो।
तमु ल्होसारको अवसरमा आयोजित उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. १ देखि ९ सम्मका गुरुङ समुदायका नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। परम्परागत गुरुङ भेषभूषा, सांस्कृतिक नृत्य तथा शुभकामना आदान–प्रदानले कार्यक्रमलाई अझै उल्लासमय बनाएको थियो।
वडा अध्यक्ष थापाले गोकर्णेश्वर नगरपालिकाले सबै जातजाति, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता मौलिक सांस्कृतिक कार्यक्रमलाई नगरपालिकाबाट आवश्यक सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा तमु समुदायका अगुवा व्यक्तित्वहरूले तमु ल्होसारले आपसी सद्भाव, एकता र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा आयोजक गोकर्णेश्वर गुरूङ (तमु) समाजले उपस्थित सम्पूर्ण अतिथि तथा समुदायप्रति आभार व्यक्त गर्दै तमु ल्होसारले नेपाली समाजमा सांस्कृतिक विविधता र सहअस्तित्वको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ।
तमु ल्होसार शुभकामना कार्यक्रम सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान र सामूहिक फोटोसेसनसहित भव्य रूपमा सम्पन्न भएको थियो।
प्रतिक्रिया