मुस्ताङ । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला मुस्ताङमा विकास निर्माणका काम पूर्ण रूपमा ठप्प भएका छन्। हिउँदयाम सुरु भएसँगै चिसो अत्यधिक बढ्दा जिल्लाका पाँचवटै स्थानीय तहमा सञ्चालनमा रहेका सङ्घीय, प्रादेशिक तथा स्थानीय पूर्वाधार विकास योजना प्रभावित बनेका हुन्।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार अत्यधिक चिसोले निर्माणमा प्रयोग हुने उपकरण सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको छ।
“पुस अगावै कोरला सडकअन्तर्गत मुस्ताङ खण्डमा काम स्थगित गरिएको हो,” शर्माले भन्नुभयो।
राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत मुस्ताङमा रोकिएका पूर्वाधार निर्माणका काम चैत महिनापछि मात्रै पुनः सञ्चालन हुने आयोजनाको अनुमान छ। चालु आर्थिक वर्षमा ठेक्का सम्झौता भएको कागबेनी–छुसाङ ९.८ किलोमिटर कालोपत्र सडक स्तरोन्नतिको काम चिसोका कारण रोकिएको छ। उक्त सडक कालोपत्रका लागि आयोजनाले २८ करोड ८७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
यसैगरी, २०७५ सालमा ठेक्का सम्झौता भएको कोरला नाका जोड्ने घमी खोला पुल निर्माण कार्य पनि स्थगित भएको छ। ४० मिटर लामो एक स्पान पुल निर्माणका लागि हिमढुङ ठोकर एण्ड इमोटल जेभी कन्स्ट्रक्सनसँग ६ करोड ८० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
भौतिक प्रगति ८० प्रतिशत पुगेको यस पुलमा फाउन्डेसन र स्ल्याब ढलान सम्पन्न भइसकेको भए पनि एप्रोज रोड र फिनिसिङको काम चिसोका कारण रोकिएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो।
कोरला सडकअन्तर्गत थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोमसम्मको १७ किलोमिटर सडक खण्ड पनि चिसोका कारण अवरुद्ध बनेको छ। विसं २०७३/७४ देखि ठेक्का सम्झौता भई अस्फाल्ट कालोपत्र सुरु गरिएको भए पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण करिब पाँच किलोमिटर सडक कालोपत्र हुन बाँकी छ। निर्माण कम्पनी सक्रिय भएको भए पुसअगावै काम सम्पन्न हुने विश्वास आयोजनाले गरेको थियो।
यसैगरी, थासाङ गाउँपालिकामा निर्माणाधीन लार्जुङ खोला पुल र कैकु खोला पुल पनि चिसोका कारण प्रभावित बनेका छन्।
अत्यधिक चिसोका कारण मुस्ताङमा दर्जनौँ सङ्घीय, प्रादेशिक तथा स्थानीय विकास योजना ठप्प भएका छन्। पूर्वाधार विकास कार्यालय मुस्ताङका सव–इञ्जिनियर जगदीश जोशीका अनुसार कार्यालयद्वारा कार्यान्वयनमा रहेका १२ वटा पुराना बहुवर्षीय योजना र चालु वर्ष थपिएका १३ नयाँ योजना प्रभावित बनेका छन्।
घरपझोङ–२ मार्फास्थित आलबारी जाने सडकमा आंशिक रूपमा कटिङको काम भइरहेको भए पनि अधिकांश योजना स्थगित गर्नुपरेको जोशीले बताए। नयाँ योजनामध्ये केही ठेक्का प्रक्रियामा छन् भने सम्झौता भइसकेका योजनासमेत हिउँदयामका कारण अघि बढाउन नसकिएको उनको भनाइ छ।
मुस्ताङमा चिसो बढेसँगै खानेपानी, जलस्रोत तथा सिँचाइ सवडिभिजन कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), एकीकृत सेवा कार्यालय, पाँचै स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाका भौतिक पूर्वाधार निर्माण कार्य प्रभावित बनेका छन्। प्रत्येक स्थानीय तहमा ५० भन्दा बढी साना–ठूला योजना कार्यान्वयनमा रहे पनि सबै योजना हाल ठप्प अवस्थामा छन्।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्ब गुरुङले हरेक वर्ष हिउँदयाममा चिसो र सम्भावित हिमपातका कारण विकास निर्माण गर्न नसकिने अवस्था रहेको बताए।
“हिउँदयाममा यहाँका नागरिक जाडो छल्न बेंसी झर्छन्, चिसोले काम गर्न असम्भवजस्तै हुन्छ,” उनले भने, “चिसो घटेपछि वैशाखतिर मात्रै विकास निर्माण अघि बढाउन सकिन्छ।”
अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री र तल्लो मुस्ताङको माइनस १० डिग्री सेल्सियसमा झरेको छ। अधिकांश सरकारी कार्यालयका कर्मचारी जिल्लाबाट झरे पनि तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी भने कार्यस्थलमै रहेर शान्ति सुरक्षामा खटिएका छन्। माथिल्लो मुस्ताङ मानवविहीन जस्तै देखिए पनि दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूले खाली गाउँ र घरको सुरक्षा गरिरहेका छन्।
प्रतिक्रिया