समानुपातिक बन्द सूचीबाट सबैभन्दा बढी एमालेका उम्मेदवारले नाम फिर्ता लिए विभिन्न दलका उम्मेदवार निर्वाचन आयोग पुगे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ पुष २०८२, मंगलवार ०७:२७

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन का लागि समानुपातिकतर्फ पेस गरिएको बन्द सूचीबाट प्रमुख शीर्ष दलहरूमध्ये सबैभन्दा बढी उम्मेदवार नेकपा (एमाले) बाट नाम फिर्ता लिन निर्वाचन आयोग पुगेका छन् ।

निर्वाचन आयोगका अनुसार एमालेका ५ जना उम्मेदवारले समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिन निवेदन दिएका छन् । पुस १३ र १४ गते पेस गरिएको बन्द सूचीबाट नाम फिर्ता लिने एमालेका उम्मेदवारहरूमा खस आर्य समूहबाट ठाकुरप्रसाद शर्मा र लालबहादुर रावल, आदिवासी जनजाति समूहबाट विजयसिंह लामा र हिरुसरा राना तथा मधेशी समूहबाट अंशु सिंह रहेका छन् ।

यस्तै, नेपाली कांग्रेसबाट खस आर्य समूहका ध्रुवबहादुर मल्ल र सृजना मल्लले पनि समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

**नेपाली कम्युनिस्ट पार्टी (नेकपा)**बाट भने मधेशी समूहका अरविन्द दास र कमलराय यादवले बन्द सूचीबाट नाम फिर्ता लिएका छन् । त्यस्तै, **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**बाट सुनिता न्हेमाफुकीले पनि आयोगमा पुगेर नाम फिर्ताका लागि निवेदन पेस गरेकी छन् ।

निर्वाचन आयोगले स्वीकृत कार्यतालिकाअनुसार आज अपराह्नसम्म समानुपातिकतर्फका उम्मेदवारले बन्द सूचीबाट नाम फिर्ता लिन सक्ने जनाएको छ । आयोगका अनुसार बन्द सूची संशोधनपछि अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया