काठमाडौँ । शुक्रबार कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट स्थानीय तहमा जग्गा प्रशासन तथा भू–सूचना प्रणाली सञ्चालनसम्बन्धी अभिलेखिकरण कागजात तथा प्रविधि हस्तान्तरणका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगर उपप्रमुख शान्ता थापा, वडा अध्यक्षहरू, भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक तथा प्रतिनिधिहरू, साथै नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
छलफलमा स्थानीय तहबाटै जग्गा प्रशासन सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने विषय, भू–सूचना प्रणालीको प्रयोग, अभिलेख व्यवस्थापन तथा प्रविधि हस्तान्तरणका प्राविधिक पक्षबारे विचार–विमर्श गरिएको थियो ।
नगरपालिकाले छिट्टै आफ्नै कार्यालय परिसरभित्र भू–सेवा केन्द्र स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिइएको छ । उक्त केन्द्रमार्फत जग्गासम्बन्धी विभिन्न सेवाहरू—सम्बन्धित राजस्व संकलन, जग्गा रोक्का तथा फुकुवा, जग्गाधनीको बायोमेट्रिक विवरण र फोटो खिच्ने कार्य, साथै लालपुर्जा हस्तान्तरण—नगरपालिकाबाटै प्रवाह गरिने जनाइएको छ ।
नगर प्रमुख उपेन्द्र कार्कीले स्थानीय तहबाटै सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई सहजता, पारदर्शिता र समयको बचत हुने विश्वास व्यक्त गर्दै भू–सेवा केन्द्र स्थापना स्थानीय सुशासन सुदृढीकरणतर्फको महत्वपूर्ण कदम भएको बताए ।
नगरपालिकाले भूमि प्रशासन सेवा डिजिटल, छरितो र जनमुखी बनाउने लक्ष्यसहित आवश्यक पूर्वतयारी तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ ।
प्रतिक्रिया