विशेष महाधिवेशनको बन्द सत्रमा उपस्थित हुन देउवालाई गगन थापाको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ पुष २०८२, सोमबार ०९:२०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको  बन्द सत्रमा उपस्थित भई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बन्द सत्रमा सभापतिको उपस्थितिले पार्टी एकताबद्ध रहेको स्पष्ट सन्देश जाने भन्दै थापाले यस्तो आग्रह गरेका हुन् ।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापालगायतका नेताहरूले सभापति देउवालाई बन्द सत्रमा उपस्थित भएर पार्टीलाई एकताबद्ध बनाउने सन्देश प्रवाह गर्न आग्रह गरेका छन् ।

सहमहामन्त्री फर्मुल्ला मन्सुरले पनि सभापति देउवालाई भोलिको बन्द सत्रमा उपस्थित भई सम्बोधन गर्न अनुरोध गर्दै त्यसले पार्टीभित्र देखिएका भ्रम र आशंका हटाउन मद्दत पुग्ने बताए ।

नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले पार्टीमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । उनले महाधिवेशनलाई कांग्रेसको आन्तरिक लोकतन्त्र सुदृढ बनाउने अवसरका रूपमा लिनुपर्ने धारणा राखे ।

पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले विशेष महाधिवेशनले पार्टी विधानसम्मत ढङ्गले अघि बढ्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको बताए । यस अधिवेशनले पार्टीभित्र अरूको कुरा सुन्न नचाहने प्रवृत्तिलाई परास्त गरेको उनको भनाइ थियो ।

नेता डा. चन्द्र भण्डारीले पार्टी नेतृत्वले देश र जनताको सम्मान गर्दै युवा पुस्ताले उठाएका माग र मुद्दालाई गम्भीरतापूर्वक सम्बोधन गर्न अग्रसर हुनुपर्ने बताए । उनले परिवर्तनका आवाजलाई दबाउनेभन्दा पनि संस्थागत रूपमा समेट्नुपर्नेमा जोड दिए ।

अर्का नेता विनोद चौधरीले नेपाली जनता राजनीतिक स्थिरतासँगै आर्थिक क्रान्तिको अपेक्षामा रहेको उल्लेख गर्दै ती अपेक्षालाई कांग्रेसले गम्भीरतापूर्वक सुनी नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने बताए ।

नेता देवराज चालिसले विशेष महाधिवेशन कांग्रेसको आन्तरिक जीवनसँग जोडिएको महत्वपूर्ण प्रक्रिया भएको उल्लेख गर्दै पार्टीलाई विधि, पद्धति र लोकतान्त्रिक अभ्यासमार्फत अघि बढाउन यसले सकारात्मक योगदान दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया