काठमाडौँ । होचापुड्का समाजको आयोजनामा गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा सञ्चालन गरिएको २० दिने सीपमूलक तालिम सम्पन्न भएको छ ।
गोकर्णेश्वर नगरपालिका तथा गोकर्णेश्वर–६ को आर्थिक सहयोगमा पुस १ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको उक्त तालिममा झोल साबुन, फिनेल, कोलिन तथा हार्पिक निर्माणसम्बन्धी व्यावहारिक सीप प्रदान गरिएको हो ।
तालिम समापन कार्यक्रम होचापुड्का समाजकी अध्यक्ष रुकमणी खड्काको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा समाजसेवी तथा कलाकार माया थामीको विशेष उपस्थिति रहेको थियो । साथै तालिम प्रशिक्षक हिरालाल भुजेल, संस्थाका पदाधिकारीहरू तथा तालिममा सहभागी प्रशिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै समाजसेवी तथा कलाकार माया थामीले आफू लामो समयदेखि अशक्त तथा अपाङ्गता भएका नागरिकहरूको हक–हित संरक्षण र सशक्तीकरणका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । उहाँले होचापुड्का समाजले गर्दै आएको सकारात्मक पहलको प्रशंसा गर्दै आगामी दिनहरूमा पनि सक्दो सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी, होचापुड्का समाजकी अध्यक्ष रुकमणी खड्काले फरक क्षमता तथा होचापुड्का भएका नागरिकहरूको जीवनस्तर उकास्ने उद्देश्यले आगामी दिनहरूमा अझ प्रभावकारी र दीर्घकालीन कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँका अनुसार तालिमले सहभागीहरूमा आत्मविश्वास बढाएको छ र प्राप्त सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर तथा स्वरोजगारमुखी बन्ने आधार तयार भएको छ ।
२० दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले झोल साबुन, फिनेल, कोलिन र हार्पिक जस्ता दैनिक उपभोग्य सामग्रीहरू घरमै उत्पादन गर्न सक्ने व्यावहारिक ज्ञान हासिल गरेको बताएका छन् । तालिम आयुर्वेद डाक्टर हिरालाल भुजेलले प्रदान गर्नुभएको थियो ।
सहभागीहरूका अनुसार थप मेहनत, लगानी र बजार व्यवस्थापन गर्न सके यही सीपमार्फत स्वरोजगार सिर्जना गर्न सकिने विश्वास बढेको छ । कार्यक्रमका अवसरमा तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
स्थानीय तहको सहयोग र सामाजिक संस्थाको सक्रियतामा सञ्चालन भएको यस किसिमको सीपमूलक तालिमले फरक क्षमता भएका नागरिकहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै आत्मनिर्भरतातर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
तालिममा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो । तालिमको मुख्य उद्देश्य फरक क्षमता तथा होचापुड्का भएका नागरिकहरूलाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाउनु रहेको आयोजक संस्थाले जनाएको छ ।
प्रतिक्रिया