बुढानीलकण्ठमा ५० प्रतिशत अनुदानमा कौसी खेती सामग्री वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०८२, बिहीबार ०७:०३

काठमाडौँ ।  स्वच्छ जीवनशैलीको सुरुआत आफ्नै कौसीबाट हुने अवधारणालाई आत्मसात् गर्दै बुढानीलकण्ठ नगरपालिका, काठमाडौँको कृषि  शाखाले आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत आन्तरिक कार्यक्रमअन्तर्गत कौसी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ।

कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा फलामको डबल स्ट्यान्ड वितरण गरिएको हो। सहरी क्षेत्रमा अर्गानिक तरकारी तथा फलफूल उत्पादनलाई प्रोत्साहन गर्दै स्वस्थ, आत्मनिर्भर र दिगो जीवनशैली विकास गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको कृषि शाखाले जनाएको छ।

नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले आफ्नै घरको कौसी, छत तथा आँगनमा गरिने जैविक खेतीले नागरिकको स्वास्थ्य सुधारका साथै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले बुढानीलकण्ठ नगरपालिकाले यस्ता जनमैत्री र उत्पादनमुखी कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा कृषि शाखाका प्राविधिकहरूले कौसी खेतीका प्रविधि, जैविक मलको प्रयोग र सुरक्षित खाद्य उत्पादनसम्बन्धी जानकारी प्रदान गरेका थिए। नगरपालिकाले सहरी कृषि प्रवर्द्धनमार्फत सुरक्षित खाद्य उपभोग र वातावरणीय सन्तुलन कायम गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply